आजः १६ आश्विन २०८०, मंगलवार

कमल थापाहरुले अब विश्राम लिनुपर्छ : रेखा थापा

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले नयाँ नेतृत्त्वका लागि महाधिवेशनमा होमिएको छ । जारी एकता महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । 

अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी नायिकासमेत रहेकी रेखा थापा यो पटक महामन्त्रीको आकांक्षीका रुपमा देखिएकी छिन् । 

उनी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उमेदवारी दिने तयारी गरिरहेकी छन् । 

थापा दोस्रो पुस्ता नेतृत्त्वमा नआएसम्म राप्रपा नबौरिने बताउँछिन् । पहिलो पुस्तालाई सम्मान गर्दै अब नयाँ पुस्ताले नेतृत्त्वमा हस्तक्षेप गर्नुपर्ने र यसका लागि सबै नेता तथा कार्यकर्ताले साथ दिनुपर्ने उनले बताएकी छन् । 

राप्रपाको जारी एकता महाधिवेशनले के सन्देश दिँदै छ ? 

सबैभन्दा ठूलो कुरा त यो महाधिवेशनमा नयाँ पुस्ताले नेतृत्त्वका लागि दाबी गरेको छ । यो राप्रपाका लागि त राम्रो हो नै अन्य पार्टीका लागि पनि यो सन्देश हो । नेपाली राजनीतिमा पुरानै पुस्ताको हालीमुहाली भएको अवस्थामा हाम्रो पार्टीमा युवा पुस्ताले नेतृत्त्वका लागि दाबी गरिरहेको छ । पद र शक्तिको लोभ देखाएर जहिले पनि दोस्रो पुस्तालाई धाप मारेर नेतृत्त्वमा जान बञ्चित गराइरहेको अवस्था छ ।

राप्रपाबाट त्यो परम्पराको अन्त्य भएको छ । राजेन्द्र लिङ्देनको उमेदवारी अरु पार्टीका दोस्रो तहका नेताहरुका लागि पनि चुनौती हो ।

शीर्ष नेताहरुले आफ्नै पद, प्रतिष्ठाका लागि केन्द्रित हुँदा दोस्रो पुस्तालाई ठाउँ दिएन । त्यसैले दोस्रो पुस्ताले हस्तक्षेप गर्ने समय आएको छ । दोस्रो पुस्ताले आफूपछिको पुस्तालाई हेरेर आँट गरेको अवस्थामा त्यसको सकारात्मक परिणाम आउँछ ।

कमल थापा लामो समयदेखि नेतृत्त्वमा हुनुहुन्थ्यो । यसपटक उहाँको विकल्प किन खोज्दै हुनुहुन्छ ?

हरेक समय पुस्ता परिवर्तन भएको छ । सूर्यबहादुर थापाको पुस्तापछि अर्को पुस्ता नेतृत्त्वमा पुगेको थियो । अब पनि राजेन्द्र लिङ्देन र धवल शमशेर राणाको पुस्ता आएन भने कहिले आउँछ ? उहाँहरु ६ दशक पुगिसक्नु भयो । अब पनि नछोडे कहिले छोड्ने ? उहाँहरुले अहिले नछोडे अब त हाम्रो पुस्ताले नेतृत्त्वका लागि खबरदारी गर्ने बेला भइसक्यो । त्यसैले अब उहाँहरुले आराम लिनुपर्छ ।

यो दोस्रो पुस्ता आउने उचित समय हो । राप्रपालाई जोगाउने, ठूलो पार्टी बनाउने र यो मौलिक पार्टीलाई देशको शानदार पार्टी बननाउने हो भने नेतृत्त्व परिवर्तन गर्नुपर्छ । मलाई लाग्छ राप्रपाका आम कार्यकर्ताले यो कुरा बुझिसक्नु भएको छ । कति खुलेर आइसक्नु भएको छ । कति खुलेर आउन बाँकी छ । मलाइ लाग्छ पुरानो नेतृत्वलाई दखोवाटीरुपमा समर्थन गरे  पनि भित्रि मनबाट नयाँ नेतृत्त्व आवश्यक छ भन्ने चेतना सबैमा आइसकेको छ ।

अहिले पार्टी कति दयनीय अवस्थामा आइपुगेको छ भन्ने सबैलाई थाहा छ । अब पनि पुरानै नेतृत्त्वलाई अगाडि सार्ने हो भने हेर्दै जानु होला यो पार्टी नै रहँदैन । नेतृत्त्व परिवर्तनको हाम्रो एजेन्डा भनेको पार्टीलाई बचाउने एजेन्डा पनि हो । अहिलेलाई पार्टी जोगाउनु पर्छ । हिजो सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पद्मसुन्दर लावतीको इतिहास रहोस् र कमल थापाको इतिहास पनि रहोस् भन्ने हाम्रो चाहना हो ।

सुरुमा तत्कालीन माओवादी केन्द्रमा हुनुहुन्थ्यो । अहिले राप्रपामा हुनुहुन्छ । राप्रपा नै रोज्नुको कारण ?

राप्रपा नेपालको एकमात्रै मौलिक पार्टी हो । यो विदेशी एजेन्डा बोकेको पार्टी होइन । देशको मौलिक पार्टी हो । यसअघिका नेतृत्त्वले यसलाई मिसयुज गरे होला । त्यसैले शीरमा राख्नुपर्ने यो पार्टीमा आबद्ध हुन कतिपय नागरिक सशंकित छन् । हिजोको नेतृत्त्वले धोको दियो । एजेन्डामाथि पनि धोका दियो । कलाकार भनेको देशको दूत पनि हो । त्यसैले देशको सेवा गर्ने हो भने आफ्नै मौलिक पार्टी किन नरोज्ने भन्ने मेरो विचार हो । यही पार्टीबाट महिला र युवाप्रति रहेको मेरो भिजन किन प्रयोग नगरौं भनेर राप्रपा मैले रोजेकी हुँ ।

महामन्त्रीमा उमेदवारीको तयारी गर्नुभएको छ । उमेदवारी किन ? 

दोस्रो पुस्ताको कुरा आएको छ । योभन्दा अगाडिका पुराना नियमित अनुहारले पार्टीका लागि के गर्‍यो ? युवाका लागि के गर्‍यो ? भन्ने कुरा भुल्न हुँदैन । आफ्नै लागि मात्रै काम गर्ने र पद मात्रै ओगटेर बस्ने काम भएको छ । आफू मन्त्री र सांसद हुनका लागि कार्यकतालाई मिसयुज गर्नेहरुविरुद्ध मेरो उमेदवारी हो ।

कमल थापा समूहलाई छोडेर राजेन्द्र लिङ्देन पक्ष किन रोज्नु भयो ? 

राजेन्द्र लिङ्देन राष्ट्रवादी नेता हो । उहाँमा युवा जोश र जाँगर छ । विद्यार्थी नेता हुँदादेखि आजसम्म उहाँमा कुनै परिवर्तन आएको छैन । युवा पुस्तालाई पनि सम्बोधन गर्दै पार्टी र राष्ट्रलाई पनि हाँक्न सक्ने नेता हो उहाँ । जनताबाट चुनिएको नेता पनि हो । राजेन्द्र लिङ्देन र धवल शमशेर मिलेपछि राप्रपा बौरिन्छ । देशको ठूलो पार्टी हुन्छ । इमान्दारिताको कदर गर्दै मैले उहाँहरुलाई रोजेको हो ।

राप्रपाको लक्ष्य र बाटो के हो ?

अहिलेलाई हामीलाई जितको शुभकामना दिनुस् । आशिर्वाद दिनुस् । अब परम्परागत धार र शोचाइबाट माथि उठ्नु छ पार्टी । यसका लागि हामीले जित्नु पर्छ । यसमा सबैको सहयोग आवश्यक छ ।

तपाईंले रोजेको समूह नेतृत्त्वमा आयो भने पार्टी, कार्यकर्ता र जनतालाई पुनः धोका हुँदैन भन्ने के निश्चित छ ?

पहिला त विश्वास गर्नुपर्छ । डराउनु भएन । यहाँ त धेरै पुरानो नेतृत्त्वसँग डराइरहनु भएको छ । पटक–पटक धोका दिँदा पनि त्यही व्यक्तिलाई सही भन्नु कहाँसम्मको अन्धभक्त हो ?

#बाह्रखरी#