आजः ८ आश्विन २०७८, शुक्रबार

बाजुराका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा

बाजुरा: बाजुराका अधिकांश बस्ती पहिराको उच्च जोखिममा रहेका छन्। सदरमुकामलगायत अन्य बस्ती अविरल वर्षाका कारण  पहिराको जोखिममा रहेको पाइएको छ।

बडीमालिका नगरपालिका–७ माउलेख गाउँ पहिराको उच्च जोखिममा रहेको छ। अविरल वर्षाका कारण पहिरो आउन थालेपछि जोखिममा रहेको स्थानीयवासी हरिचन्द्र पाध्यायले बताए। सो गाउँमा बस्ने सात परिवारको पहिराले गर्दा विस्थापित हुनुपर्ने अवस्था रहेको जनाइएको  छ।

अविरल वर्षाका कारण माउलेख बस्ती नजीकै तलबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो। पहिराको जोखिममा रहेका परिवार पानी परेको दिन एकै घरमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीय पत्रकार हेमराज उपाध्यायले जानकारी दिए।

                                                                                                फाइल फोटो

नगरपालिका–७  जिल्ली र रजातोलीका बस्ती नै पहिराको जोखिममा छन्। वडा नै जोखिममा भए पनि सो गाउँको तलपट्टिबाट पहिरो बग्न थालेपछि झनै जोखिम बढेको पत्रकार उपाध्यायको भनाइ छ। वर्षाले सोही वडाको जिल्लीमा रहेको लक्ष्मी माविमा समेत क्षति पु¥याएको विद्यालयले जनाएको छ।

विद्यालय नजीकैबाट पहिरो आएर लाखाँैको क्षति भएको छ। पहिराका कारण विद्यालयसहित नजीकको टोल पनि उच्च जोखिममा रहेको वडा नं ७ का वडा सदस्य धनलाल पाध्यायले बताए।  जिल्लीदेखि रजातोली जोड्ने बाटोसमेत बन्द भएको छ। जिल्ली–माउलेखमा गएको पहिराका कारण गाउँबाट आवतजावत रोकिएको छ।

पहिराले बाटो पूर्ण रुपमा बन्द भएपछि आवतजावत नै ठप्प भएको हो। पहिराले बगाएको गोरेटो बाटो नबन्दा दुई गाउँको सम्बन्ध नै विच्छेद भएको पत्रकार उपाध्यायले बताए।