आजः २०७७ कार्तिक ९, आईतवार

धनगढी–अत्तरिया ६ लेन सडकमा पनि बन्ने भयो आकासे पुल

धनगढी : मोहनापुलदेखि धनगढी हुँदै अत्तीरया जोड्ने ६ लेन सडकमा आकासे पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाइएको छ। मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले प्रक्रिया अगाडी बढाएको हो ।

मोहनापुलदेखि अत्तरियसम्मको सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण गर्न प्रक्रिया अगाडि बढाईएको आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए।

आकासे पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको बताउँदै उनले भने, ‘आकासे पुलका लागि कार्यक्रम रहेको छ। विभागको अनुगमन पछि कति र कुन ठाउँमा राख्ने निर्णय हुने छ।’

उनका अनुसार धनगढीको ट्राफिक चौराह लगायत बढि भीडभाड हुने क्षेत्रमा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो। उनले आकासे पुल निर्माणका लागि विभागले नै सर्वे टोली पठाउने तयारी गरेको बताए।

मोहना अत्तरिया सडक आयोजनाका अनुसार निर्माणका भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। एक नम्बर प्याकेजका लागि आगामि मंसिर ६ गते , २ र ३ नम्बर प्याकेजका लागि आगामि माघ १६ गते सम्म म्याद थप भएको छ।

मोहना–अत्तरिया सडकमा सुरुमा ३ वटा पुल निर्माण गर्ने सम्झौता भएकोमा दुई वटा मात्र पुल निर्माणका लागि पनि प्रक्रिया अगाडि बढिसकेको छ। – दिनेशखबर