अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५.२१ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला दिनमा हरेक दिनजसो नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो । सोही क्रममा बिहीबार पनि नयाँ उचाइ कायम गरेको हो ।
गत शुक्रबारदेखि सोमबारसम्म एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ रहेकोमा गत मंगलबार बढेर १ सय २५.१६ रुपैयाँ पुगेको थियो । यसअघि यही जेठ ६ मा अमेरिकी डलरको भाउ १ सय २४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा मंगलबार डलरको भाउ पुन नयाँ उचाइमा पुगेको हो ।
गत असारको तुलनामा वैशाखसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३।७१ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७२ प्रतिशतले बलियो (अधिमूल्यन)भएको थियो । ‘०७९ वैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय २३।६३ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘०७८ असार मसान्तमा उक्त विनिमय दर १ सय १९.०४ थियो ।’
पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरूको भनाइ छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।