आजः २२ श्रावण २०७९, आईतवार

उपसभामुख पदका लागी शुक्रबार निर्वाचन हुँदै

काठमाडौँ:प्रतिनिधिसभाको उपसभामुखका लागि शुक्रबार निर्वाचन हुँदैछ। शुक्रबार अपराह्न ३ बजे प्रतिनिधिसभामा उपसभामुखको चुनाव गर्ने कार्यतालिका छ।

निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी सचेतक समेत रहेकी पुष्पा भुषाल र प्रतिपक्ष दल एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिएका छन् ।

भुषालको प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृतकी लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।

यस्तै भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।

काँग्रेसकी सचेतक भुषाल यसअघि उपसभामुखमा पराजित भएकी थिइन्। तत्कालीन सत्ता गठबन्धनबाट उम्मेवार बनेकी डा।शिवमाया तुम्बाहाङ्फे निर्वाचित भएकी थिइन्। अर्की उम्मेदवार भट्टराई भने उपनिर्वाचन २०७६ मा कास्की २ बाट निर्वाचित भएकी हुन्।

रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।