आजः २२ श्रावण २०७९, आईतवार

साफ यू–२० च्याम्पियनसिपमा नेपालद्वारा माल्दिभ्स ४–० गोलले पराजित

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले मादिभ्सलाई ४–० गोलले पराजित गरेको छ ।

भारतको भुवनेश्वरमा सुरु भएको प्रतियोगितामा नेपालसामू माल्दिभ्सको टोली निरीह बन्यो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो ।

नेपालको तर्फबाट अभिषेक वाइबा, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको ४१औं मिनेटमा वाइबा, ५७औं मिनेटमा सुवाल, ६२औं मिनेटमा पेनाल्टीमार्फत छुन्जु र इन्जुरी समयमा नकर्मीले गोल गरेका हुन् ।

४ गोल गरे पनि नेपालले पाएको धेरै अवसरहरू गुमाएको थियो । यद्यपि माल्दिभ्सका खेलाडीहरूले पनि पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।