नोएडाको ४० तले ट्वीन टावर आज भत्काइँदै
काठमाडौं। भारतको ट्वीन टावरका रुपमा चिनिएका नोएडाका २ वटा विशाल भवन आज भत्काइने भएका छन्। मापदण्डविपरित निर्माण गरिएको ठहर गर्दै त्यहाँको सर्वोच्च अदालतले टावर भत्काउन निर्देशन दिएको हो।
नोएडाको सेक्टर नाइन थ्री ए को सुपरटेक टावरलाई सर्वोच्च अदालतको आदेशपछि भत्काउन लागिएको हो। सुरुमा नौ तलाको बनाउने भनेर निर्माण सुरु गरेको टावर पछि १४ तले बनाइएको थियो।
यसलाई थपेर २१ तले हुँदै ४० तले बनाएपछि इलाहावाद उच्च अदालतमा मुद्दा परेको थियो। इलाहावाद उच्च अदालतले भवन भत्काउन आदेश दिएपनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो। भवन ध्वस्त बनाउनु अघि नोएडा-ग्रेटर नोएडा एक्सप्रेस वे बन्द हुने बीबीसी हिन्दीले जनाएको छ।
नोएडाका डीसीपी सेन्ट्रल राजेशले दिउँसो साढे २ बजे टावर विष्फोट गराएर भत्काउने जानकारी दिएका छन्। टावर ध्वस्त बनाएपछि आधा घण्टासम्म वरपर धुलोले ढाक्नेछ। धुलो हटेपछि सडक खोलिने खबरमा उल्लेख छ।
भवन ध्वस्त बनाउने कार्यको लागि ५ सय ६० जना प्रहरी, रिजर्व फोर्सका १ सय जना र ४ वटा क्विक रेस्पोन्स टिम परिचालन गरिनेछ। टावर ध्वस्त बनाउन ३ हजार ७ सय किलोग्राम भन्दा धेरै विष्फोटक पदार्थ आवश्यक पर्नेछ।