बेलायती महारानी एलिजाबेथको निधन
काठमाडौं । बेलायतकी महारानी एलिजबेथको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको हिजाे बिहीबार निधन भएको हो।
उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।उनी बेलायतसँगै अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुखका रुपमा रहेकी थिइन् ।
उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४औं पछि दोस्रो स्थानमा परेकी छन् ।त्यस्तै उनी बेलायतमा भने सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्षका रुपमा स्थापित भएकी छन् । उनको जन्म सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा भएको थियो । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गर्ने अवसर पाएकी थिइन ।
उनको सत्तारोहणको बेला दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयासमा थियो । उनले करिब १२० देशको भ्रमण गरेकी छन् । एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी राखिसकेकी थिइन् । उनले आफ्नो जीवन कालमा नेपालको पनि दुई पटक भ्रमण गरेकी थिइन् ।