नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको पहिलो जितकाे सुरूवात
धनगढी । सुदूरपश्चिम प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत काठमाडौंमा जारी पुरुष क्रिकेटमा पहिलो जित हाँसिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो।प्रदेश १ का दिपेश कँडेल ३४ र सोनु मण्डल २६ रनमा नटआउट रहे। कप्तान फिर्दोस अन्सारीले ३३ तथा सन्दीप ढुङ्गानाले १३ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
त्यसअघि प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमका वसन्त खत्रीले सर्वाधिक ५३ रनको योगदान दिए। मिलन बोहोराले ४४ रन थपे।
लोकेन्द्र चन्द २४ रन बनाउँदा रन आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। प्रदेश १ का फिर्दोस अन्सारीले ३, दिपेश कँडेलले २ तथा कमल खत्रीले १ विकेट लिए।