अविरल वर्षाका कारण गएराति आएको पहिरोमा परि घाइतेहरुको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार
अविरल वर्षाका कारण गएराति आएको पहिरोमा परि घाइतेहरुको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भईरहेको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागी सुर्खेत लगिएको छ । अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।
उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ।
यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए।
तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।