अछाममा पहिराेमा परेर मृत्यु भएका परिवारलाई किरिया खर्च वितरण
२ असोज अछाम। जिल्ला प्रशासन कार्यालय अछामले पहिरोमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई किरिया खर्च वितरण गरेको छ ।
प्रशासनले आइतबार प्रतिपरिवार १ लाख रुपैयाँका दरले २२ जना मृतकमा परिवारलाई किरिया खर्च वितरण गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मृतकका परिवारहरुलाई सो किरिया खर्च हस्तान्तरण गरेका थिए । उनले प्रदेशका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारी र आफ्नो तर्फबाट पनि प्रतिपरिवार १० हजार रुपैयाँका दरले किरिया खर्च थपिदिएको बताए ।
शुक्रबार राति गएको पहिरोमा परी तुर्माखाँद गाउँपालिकामा ९ जना, ढकारी गाउँपालिकामा १ जना, कमलबजार नगरपालिकामा १२ जनाको मृत्यु भएको छ । ढकारीका एक जना अझै बेपत्ता छन् । मन्त्री कुँवरले मृतक २२ जना र वेपत्ता एक जना गरी २३ जनाको परिवारलाई कृया खर्च दिएको बताए । यद्दपि, बेपत्ता मोतिराम बुढाको खोजी कार्य जारी छ ।
मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले धनगढीबाट नेपाली सेनाको हेलिकप्टर चढेर कृया खर्च वितरण गर्न अछाम पुगेका थिए । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले मन्त्री कुँवरद्वारा ढकारी, तुर्माखाँदमा घटनास्थलमै गएर कृया खर्च हस्तान्तरण गरिएको बताए । उनले कमलबजारमा नगरपालिकामा मृतकका परिवारलाई बोलाएर कृया खर्च हस्तान्तरण भएको बताए ।
मन्त्री कुँवरले पहिरोमा परी घर भत्किएका पीडित परिवारलाई खाद्यान्न सहयोगसमेत गरिने बताए ।
उनले थप राहतका लागि नेपाल सरकारले पहल गरिरहेको बताउका छन् ।