आजः २०७७ मंसिर १४, आईतवार

धनगढी बजार खुल्यो, दशैँको मुखमा व्यापार नभएपछि व्यापारीको उत्साह हरायो


धनगढी: धनगढीको मुख्य बजारमा फेन्सी पसल संञ्चालन गर्दे आएका जनक अवस्थीले गत वर्षको दशैंका बेला १५ लाख बढीको लुगाकपडा बिक्रि गरेका थिए। तर यसवर्ष भने दशैँ आउन हप्ता दिन मात्रै बाँकी रहदा उनको पसलमा सपिङका लागि आउने ग्राहकको चाप तुलनात्मक रुपमा निकै घटेको छ।

किनमेलका लागि आउनेहरुको संख्या घटेसँगै अवस्थीको व्यापार अघिल्लो वर्ष झै छैन्। गत वर्षको भन्दा यस वर्ष व्यापार निकै घटेको उनले बताए। ‘गत विगतका वर्षहरुमा दशैँतिहार आउन एक महिनादेखि नै बजारमा किनमेल गर्नेहरुको घुईचो नै लाग्ने गर्दथ्यो,’ अवस्थीले भने, ‘यस वर्ष भने अहिले सम्म व्यपार शुन्य छ।’

६ महिनासम्म भएको लकडाउन र निषेधाज्ञाको मार दशैँ तिहारले व्यवस्थापन गर्ने अपेक्षा गरेका उनी जस्तै धेरै व्यापारीहरु व्यापार घटेपछि निराश भएका छन्। चाडपर्वमा नयाँ लुगाकपडा किन्न बजार पुग्नेहरुका कारण धेरै व्यापारीहरुलाई त चाप थेगी नसक्नु हुने गरेको थियो। धेरै फेन्सी पसल संञ्चालकहरुले त दशैंमा हुने कारोवारबाट प्राप्त हुने रकमबाटै वर्षभरीको घरभाडा र घर खर्च चलाउदै आएका थिए।

यसवर्ष भने कोरोना संक्रमणको भयले दशैँ नजिकिए पनि किनमेलका लागि बजार जानेहरुको संख्यामा कमी भएको छ। संक्रमणको भय मात्र नभएर प्रदेशको अस्थायी राजधानीमा डेरा गरी अध्ययन गर्ने विद्यार्थी गाउँ फर्किनु, भारतमा रहेका प्रदेशवासी लकडाउन र निषेधाज्ञामै फर्किएका कारण पनि किनमेल घटेको धनगढीकै कपडा व्यापारी पुष्कर शाहीले बताए।

आजभोलि बिहानै पसल खोलेर कुर्नु बाहेक अन्य विकल्प नभएको व्यापारीहरुको भनाई छ। ग्रहक संख्या घटेपछि यसवर्ष दशैंलाई लक्षित गरी राखिएका लाखौंको सामान बिक्रि नहुने चिन्तामा व्यापारीहरु छन्। ‘दशैँतिहारको मुखमा समेत बजारमा किनमेलका लागि पुग्ने मानिसहरुको संख्या निकै कम छ,’ मेनरोड बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त पनेरुले भने, ‘कोरोना प्रभावकै कारण अधिकांशको रोजगारी गुमेको छ, त्यसकारण पनि दशैंका लागि किनमेल गर्नेको भिडभाड छैन्।’

कोरोना प्रभावकै कारण अपेक्षकृत रुपमा व्यापार, व्यवसाय संञ्चालन हुन नसकेपछि अधिकांश व्यापारीहरुले उत्साह हराएको प्रतिक्रिया दिएका छन्। व्यापार नै नभएपछि दशैँतिहार खल्लो हुने चिन्तामा उनीहरु परेका छन्। भाडामा लिएर व्यापार गर्ने व्यवसायीले त भाडा तिर्न समेत सकस हुन थालेको बताएका छन्।