आजः ११ श्रावण २०७८, सोमबार

तुर्माखाँद गाउँपालिकामा ९२ लाखको लागतमा खानेपानी योजना बन्ने

योजनाको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा
अछाम – अछामको तुर्माखाँद गाउँपालिकामा भिरकिछडा बुडाखोला खानेपानी योजनाको शिलान्यास गरीएको छ । गाउँपालिकाको वडा नम्बर ५ जम्मपानीमा बन्न लागेको खानेपानी योजनाको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले शिलान्यास गर्नुभयो ।

तुर्माखाँद गाउँपालिकामा सञ्चालित ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजना अन्र्तगत ९२ लाख बढीको लागतमा उक्त खानेपानी योजना निर्माण गर्न लागिएको गाँउपालिकाले जनाएको छ ।

गाउँपालिकाको २९ लाख २९ हजार ४ सय ६० रुपैयाँ, नेपाल सरकारको १३ लाख ५९ हजार १ सय ३३ रुपैयाँ, फिनल्याण्ड सरकारको २५ लाख २४ हजार १ सय ४ रुपैयाँ र उपभोक्ताको श्रमदानबाट २३ लाख ९३ हजार ६ सय ५० रुपैयाँ गरी जम्मा ९२ लाख ६ हजार ३ सय रुपैयाँ बढीको लागतमा खानेपानी योजना बनाउन लागीएको गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दीनुभयो ।

उहाँका अनुसार भिरकिछडा बुडाखोला खानेपानी योजना निर्माणपछि वडा नम्बर ५ को जम्मपानी क्षेत्रका ८९ घरधुरीका ७ सय २६ जनसंख्या तथा विद्यालयहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।