आजः २०७७ माघ ६, मंगलवार

किसानका समस्याहरू समाधान गर्न किसान संघ अछामको माग

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय
अछाम – नेपाल किसान संघ अछामले विभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको छ ।

कृषिको क्षेत्रमा काम गर्ने कृषि ज्ञानकेन्द्र लगायत जिल्लाका विभिन्न पालिकाहरूमा रहेका कृषि शाखाहरूबाट कृषकलाई राहात दिनुको सट्टा उल्टै समस्यामा पारेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाइएको हो ।

पछिल्लो समयमा अछामका किसानहरूले धेरै दुख पाईरहेकाले यथासिघ्र किसानका समस्याहरू समाधान गर्न ज्ञापनपत्रमार्फत अनुरोध गरिएको छ ।

ज्ञापनपत्रमा वितरणमुखि कार्यक्रम भन्दा सेवामूलक कार्यक्रममा जोड दिनुपर्ने, तरकारी, फलफूल, गहु, बाली तथा आलु खेतीमा देखिएको रोग तत्काल व्यवस्थापन गर्नुपर्ने, बाख्रा तथा कुखुरामा देखिएको रोगको पहिचान गरि कृषकलाई उचित क्षतिपूर्ति दिनुपर्ने, वास्तविक किसानको पहिचान गरि अनुदानको व्यवस्था गर्नुपर्ने र कृषकलाई समयमै गुणस्तरीय बिउबिजन र मलखादको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू उल्लेख गरिएको छ ।

कृषकहरूका समस्या एकातिर सम्बन्धित निकायको बाटो अर्कै तिर भईरहेकाले तत्काल आफ्ना गतिविधि सच्याएर किसानको पक्षमा काम गर्न संघले माग गरेको छ ।

समयमै माग पुरा नभए थप आन्दोलनका कार्यक्रमहरूको घोषणा गर्ने किसान संघ अछामका सचिव कृष्णप्रसाद देवकोटाले चेतावनी दिनुभएको छ ।